मंगलबार , माघ २९, २०८१
घर-घरमा कुस भित्र्याएर मनाइयो कुशे औंशी – Deurali Khabar

काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाएका छन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

यस दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण,पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दीर परिसरमा विशेष मेला लागेको छ ।

भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गइ तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरु तर्दछन् भन्ने धार्मिक विश्वास रहेको छ ।

सत्ययुगमा ब्रह्माले नै स्थापना गरेको स्थल भएकाले गोकर्ण पुगेर पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP