
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएका नेपाली फिल्महरु ‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’ले घरेलु बक्स अफिसमा सुखद ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । पछिल्लो समय नेपाली फिल्मले दर्शकलाई हलसम्म तान्न नसकिरहेको बेला, यी दुई फिल्मको ओपनिङ अकुपेन्सी अवश्य पनि सुखद हो ।
तर दुवै फिल्मको शुक्रबारको अकुपेन्सी अपेक्षाअनुसार चाहिं होइन । शुक्रबार ‘नांगो गाउँ’को देशव्यापी अकुपेन्सी (बिहानदेखि बेलुकासम्म) ६० प्रतिशत रह्यो भने ‘एक भगवत् र एक गीता’को अकुपेन्सी ३५ प्रतिशत हाराहारीमा रह्यो । देशभरका ठूला मल्टिप्लेक्सको अकुपेन्सी आँकडा अध्ययन गर्दा ‘नांगो गाउँ’को अकुपेन्सी केही माथि छ ।



समग्रमा ‘नांगो गाउँ’को यो अकुपेन्सीमा ‘दयाहाङ र मिरुना फ्याक्टर’ प्रमुख रह्यो । कबड्डी ४ र जारीजस्ता ब्लकबस्टर फिल्ममा एकसाथ देखिएको दयाहाङ र मिरुनाको जोडीले ‘नांगो गाउँ’को ओपनिङमा योगदान दिएको अनुमान गरिएको छ । नांगो गाउँको पहिलो सप्ताहन्तको कमाइमा दयाहाङ र मिरुना मगर ‘फ्याक्टर’ले प्रमुख भूमिका खेल्ने पक्का छ ।
अर्कोतर्फ, ‘एक भगवत् र एक गीता’ले पनि सन्तोषजनक अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । ‘वर्ड अफ माउथ’ बलियो रहे तीजको छेकोमा आगामी सातासम्म विपिन कार्की स्टारर फिल्मले राम्रो कमाइ गर्न सक्छ । हलमा चलिरहेका नेपाली फिल्मलाई फाइदा के हो भने शनिबार, तीज र संविधान दिवसको बिदाले कमाइ राम्रै हुन सक्छ ।