बिहिबार , भाद्र १८, २०८३
संसद विघटनको असर कानुन निर्माणमा परेको सभामुखको टिप्पणी – Deurali Khabar

१ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अघिल्लो कार्यकाल पूर्णतः सञ्चालन हुन नसकेको बताएका छन् । यसको असर संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा परेको उनको टिप्पणी छ ।

‘कानुन बनाउने थलो कहिले विघटन भयो, कहिले पुनःस्थापित भयो । यसले गर्दा केही अलमल र ढिलाइ भयो,’ राष्ट्रिय सभाचार समितिसँगको अन्तरर्वार्तामा सभामुख घिमिरेले भनेका छन्, ‘अहिलेको सदनमा आवश्यक कानुन ल्याउन सरकार र राजनीतिक दलले चासो दिनुपर्ने हुन्छ । संसद, समितिहरू र संसद सचिवालय आवश्यक सहजीकरण गर्न तयार छ ।’

सभामुख घिमिरे प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा कानुन बनाउने वातावरण संसदमा बन्न नसकेको दोहोर्‍याउँछन् ।

उनी थप्छन्, ‘गत कार्यकालको संसद् पूर्णतः सञ्चालन हुन सकेन । त्यहाँ तानातान र हानाहानको स्थिति भयो । विरोध र बहिष्कारको स्थिति भयो । जरुरी कानुन बनाउने र बहस छलफल गर्ने काममा सोचेजस्तो सफलता हासिल भएन । राजनीतिक अस्थिरता भयो ।’

संविधान पूर्णतः कार्यान्वयन नहुँदै यसमाथि प्रश्न उठाउनु गलत रहेको पनि सभामुख घिमिरेले बताए ।

‘संविधान आएपछि कति कार्यान्वयनमा गयो ? कस्तो जनशक्ति प्रयोग गरियो ? यथार्थमा गरेर हेर्ने कुरामा कमजोरी छ’, उनी भन्छन्, ‘मेरो विचारमा यसलाई प्रभावकारी कार्यान्वयनमै जोड दिनुपर्छ ।’

सुरुमा संघीयतामा जान हुँदैन, एकात्मक व्यवस्था नै ठीक छ भनेर आवाज उठाउने समेत देखिएको स्मरण गर्दै सभामुख घिमिरे प्रदेश संरचनामाथि प्रश्न उठाउनुभन्दा पहिले यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

‘अहिले सात प्रदेश पाल्न कठिनाइ भयो भनेर राजनीतिकरूपमा आइरहेको छ । तर व्यवहारमा कार्यान्वयन प्रभावकारी हुनसकेको छैन । प्रभावकारी कार्यान्वयनमा ध्यान दिने हो भने अझै पनि समस्या छैन । त्यसकारण अहिले संविधान संशोधन गर्नुपर्ने कुरा मनोगत छ, वस्तुगत छैन’, उनले थपे ।

साथै, निर्वाचन प्रणालीबारे उठ्ने गरेका प्रश्नहरुमा पनि तत्काल संविधान संशोधनमा जान आवश्यक नरहेको सभामुख घिमिरेको भनाइ छ ।

‘मुलुकमा पछाडि परेका जातजाति, समुदाय, वर्ग, क्षेत्र, लिंगलाई अहिलेकै निर्वाचन प्रणालीले समेटेको छ । यो हिसाबले पनि सोच्न जरुरी छ’, उनी भन्छन्, ‘तर यो निर्वाचन प्रणालीले सरकार बनाउन असहज पनि भएको छ । यसलाई मिलाएर सहज के हुनसक्छ भनेर सोच्न जरुरी छ ।’

यथार्थमा पछाडि परेका वर्ग र समुदायलाई समानुपातिक निर्वाचन प्रणालीले सहयोग गरेको स्मरण गर्दै उनी दोहोर्‍याउँछन्, ‘त्यसकारण म फेरि पनि भन्छु- अहिले संविधानको प्रभावकारी कार्यान्वयन गरेर नै जानुपर्छ । हतारमा निर्णय गरेर संशोधनमा लाग्नु आवश्यक हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP