पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन नेकपा एमालेका विधान महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई आग्रह गरेकी छन्।
शुक्रबारबाट ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले शुभकामान सन्देश दिँदै चिठी अध्ययन गर्न आग्रह गरेकी हुन्।



नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो।
‘जुन उद्देश्यले यहाँहरू काठमाडौँ आउनुभएको छ, यहाँहरूको कार्य सफल रहोस्। म पनि लामो समयसम्म यहाँहरूसँग सँगसँगै रहेँ। तर, बीचमा पार्टीले मलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएर पठाएको हुनाले राष्ट्रिय जिम्मेवारीमा रहेँ,’ उनले भनिन्, ‘त्यतिबेला हाम्रो भेटघाटहरू कम भएको हुनसक्छ। तथापि हाम्रो उद्देश्य एउटै हो। हामी सधैँ सँगै नै छौँ। यहाँहरूलाई मैले प्रत्यक्ष भेटघाट गर्न नपाए पनि मैले भेटेसरह नै मानेको छु।’
बिहीबार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रीय कमिटीको अधिकारक्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा विधान अधिवेशनमा एजेन्डा पनि बन्न नसक्ने बताएको थियो।
पार्टीको सचिवालय बैठकले अधिवेशनमा जान रोकेपछि भिडिओ सन्देश दिँदै भण्डारीले प्रतिनिधिहरूलाई सफलताको शुभकामना व्यक्त गरिन्।


