
ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेको छ । जिएचसीए समूह ‘सी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ । जिएचसीएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी)लाई हराएको थियो । मूलपानी क्रिकेट मैदानमा जिएचसीएले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १० विकेटले सहजै पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । एन्जल्सले ११ ओभर एक बलमा पूरै विकेट गुमाएर मात्र ३३ रनको सामान्य योगफल खडा गर्यो । एन्जल्सका सन्देश भण्डारीले ९ बलमा ८ रन बनाए ।



जवाफमा जिएचसीएले ५ ओभरमा विना विकेट क्षति लक्ष्य पूरा गर्यो । जिएचसीएका अली अक्बर अन्सारीले १६ बलमा १८ तथा लक्की कठायतले १४ बलमा १५ स्कोर गरे । बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा जिएचसीएको काठमाडौं टोली पनि जित निकाल्न सफल भयो । जिएचसीएले कालिकोट जिल्ला क्रिकेट संघलाई ६ विकेटले हरायो ।