
१० असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले विदेश विभागको प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेकोमा आलोचना भइरहेको छ ।
एन्फा विधानको हवाला दिएर विदेशी नागरिकलाई फुटबलको विदेश विभाग प्रमुखको जिम्मेवारी दिँदा स्वार्थ बाझिनसक्ने आशंका गरिएका छन् । एन्फा विधानमा एन्फा, प्रदेश फुटबल संघ र जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनित हुन नपाउने व्यवस्थाको पहिलो नम्बरमै ‘गैरनेपाली नागरिक’ भन्ने उल्लेख छ ।



त्यसकै आधारमा जर्मन नागरिक पाण्डेको नियुक्तिमा विरोध भएको हो । तर सोही बैठकबाट महासचिव नियुक्त भएका किरण राईले भने स्वयमसेवक जिम्मेवारी भएको हुनाले आफूहरुले विधान विपरीत हुने गरी कुनै काम नगरेको दाबी गरे । उनले यो विषयलाई धेरै उछाल्नु अर्थहीन हुने बताए ।
‘यहाँनेर थोरै भ्रम भएजस्तो लाग्यो । एन्फाको विधानमा गैरनेपाली नागरिक एन्फाको केन्द्रीय, प्रादेशिक र जिल्ला फुटबल संघको कार्यसमितिमा निर्वाचित वा मनोनित हुन नपाउने भनिएको,’ राईले अनलाइनखबरसँग भने, ‘नवीन पाण्डेलाई हामीले विदेश विभाग विज्ञका रुपमा नियुक्त गरेका हौं । विदेशी प्रशिक्षक र विज्ञहरु नियुक्ति गरेजस्तै हो उहाँको नियुक्ति ।