
२६ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् ।
राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चारमाध्यम डेली मिररले जनाएको छ ।



आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महँगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै उनको राजीनामा मागेर लामो समयदेखि आन्दोलन भइरहेको छ ।
यो अवधिमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बने, तर आन्दोलन रोकिएन । आर्थिक संकटसँगै तनाव बढ्दै गयो ।
शनिबार बढ्दो महँगीका साथै खाद्यान्न, इन्धन र औषधि अभावको विरोधमा र्याली आह्वान गरिएको थियो । प्रदर्शनलाई विपक्षी दल, ट्रेड युनियन, विद्यार्थी, किसान संगठन लगायतले समर्थन गरे ।
सरकारले भने प्रदर्शन रोक्ने उद्देश्यले शुक्रबार राति ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू घोषणा गर्दै नागरिकलाई घरमै बस्न भन्यो । सडकमा सेना र प्रहरी तैनाथ गरिएको थियो ।
तर विपक्षी दल र आम नागरिकले विरोधपछि सरकारी कर्फ्यू हट्यो भने शनिबार बिहानैदेखि देशका विभिन्न भागबाट मानिसहरु कोलम्बोमा जम्मा हुन थाले । मानिसहरु रेल, बस, ट्रक जस्ता यातायातका साधन चढेर कोलम्बो आएका थिए ।
करिब दिउँसो १ बजेतिर प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास परिसरमा देखिए । केहीबेरमै ठूलो भीड जम्मा भयो । केही प्रदशर्नकारी मेन गेटमा चढेर परिसरमा घुसे ।
प्रदर्शनकारीलाई रोक्न सुरक्षाबलले अश्रुग्याँस, पानीको फोहोराका साथै गोलीसमेत हानेको थियो । केही मानिस घाइते पनि भएका छन् । तर सुरक्षा बलको घेरा तोड्दै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् ।