मंगलबार , फागुण ६, २०८१
नेपालका लागि निर्णायक हुनेछ स्कटल्याण्ड श्रृंखला – Deurali Khabar

क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्याण्ड पुगेको नेपालले भोलि सोमबार नामिबियासँग खेल्ने छ । र, सिरिजको चौथो तथा अन्तिम खेल १ साउनमा घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ ।

नेपाल यो चारमध्ये तीन खेल जितेर विश्वकप ग्लोवल क्वालिफायर्समा पुग्ने सम्भावना जिवितै राख्न चाहन्छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएका सात (७) वटा एसोसिएट देशबीच प्रतिस्पर्धाको स्तर उकास्ने उद्देश्यबाट सन् २०१९ मा लिग टूको सुरुवात भएको हो ।

तीन वर्ष अवधिको हरेक टोलीले एक अर्कासँग गरी ३६ खेल खेल्ने छ र शीर्ष तीन टोली २०२४ मा हुने विश्वकपमको छनोटमा पर्नेछ । तर कोरोना महामारीका कारण लिग टूका श्रखलाहरु प्रभावित भयो । त्यसमा पनि नेपाल धेरै प्रभावित भयो ।

किनकी सबै (३६) वटा खेल खेलेको ओमान ४४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । २१ खेल अर्थात समग्रमा ५५ प्रतिशत जित हासिल गरेको ओमान लगभग विश्वकप ग्लोवल क्वालिफायर नजिक देखिन्छ ।

अहिलेसम्म २० मध्ये एक खेलमात्र जितेर तालिकाको पुछारमा रहेको पपुवा न्युगिनी शीर्ष तीनमा पुग्ने सम्भावना न्यून छ ।

दोस्रोदेखि छैठौं स्थानमा रहेका स्कटल्याण्ड, यूएई, अमेरिका, नेपाल र नामिविया एदिवसीय विश्वकपको ग्लोवल क्लालिफायर–२०२३ का बाँकी दुई स्थानका लागि प्रतिस्पर्धामा छन् ।

ग्लोबल क्वालिफायरको सम्भावना जीवितैै राख्न नेपाललाई स्कटल्याण्डको यो भ्रमण महत्वपूर्ण छ । नेपालले स्कटल्याण्डको विकेट परिवेशमा घरेलु टोली र अफ्रिकाको उदाउँदो टोली नामिवियामाथि अप्रत्यासित नतिजा निकाल्नुपर्नेछ ।

लिग टु मा नेपालले खेल्न लागेको यो पाँचौ श्रृंखला हो । स्कटल्याण्ड र नामिबियासँग भने नेपालको यो पहिलो अन्तर्राष्ट्रिय श्रृंखला हुनेछ । फरक परिवेशमा खेल्न गइरहेको नेपालका लागि स्कटल्याण्डमा धेरै चुनौती छ ।

पहिलोपल्ट स्कटिस विकेटमा खेल्नु, बलियो विपक्षी हुनु, तर नेपालको तयारी कमजोर रहनुले त्रिकोणात्मक श्रृखला सहज छैन । स्कटल्याण्डले घरेलु माहोलको फाइदा लिनेछ । ‘त्यहाँ अन्तभन्दा धेरै चुनौतीपूर्ण हुनेछ । त्यहाँको कन्डिसन र मौसमले गर्दा चुनौती छ,’ स्कटल्याण्ड भ्रमणको तयारीका लागि क्यनडा उड्नुअघि सन्दीपले भनेका थिए ।

कम्तीमा तीन जित सम्भव होला ?

पछिल्लो समय नेपालको ब्याटिङ एकरुपको छैन । कमजोर लक्ष्यमा पनि चुक्दै आएको छ । स्कटल्याण्ड जानुअघि क्यानडामा तयारी गरेको नेपालले टोरन्टोमा ‘कमजोर’ घरेलु टिमसँग पराजय ब्यहोरेको थियो । जबकी स्कटल्याण्ड र नामिबिया दुबैले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेका छन् ।

‘दुवै विपक्षी टिम बलिया छन् । दुवै टिम राम्रो भए पनि नेपाली टिममा प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको कप्तान सन्दीप बताउँछन् । ‘दुवै टिम सन्तुलित छन् । नेपाल पनि राम्रो र प्रतिस्पर्धात्मक टिम हो,’ सन्दीपले स्कटल्याण्ड जानुअघि भनेका थिए, ‘हामीले कसरी खेल अघि लैजाने र फिनिस गर्ने वा पहिले ब्याटिङ गर्दा ‘डिफेण्ड’ कसरी गर्ने र जित्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।’

पछिल्ला केहि श्रृंखलाका आधार मान्दा नेपाल केही खेलमा आफू बलियो स्थितिमा रहँदारहँदै पनि अन्तिममा हार्न पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP