
वीरगन्ज: संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले नागरिकता विधेयक असारभित्रै संसदबाट पास हुने बताएका छन्।
‘नागरिकता विधेयक अबको चार पाँच दिन भित्रमै संसदबाट पारित हुन्छ,’ सोमबार वीरगन्जमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री यादवले भने, नागरिकता विहिन नेपाली नागरिकले नागरिकता पाउछन्।’ मन्त्री यादवले मन्त्रीपरिषद् बैठकले पुरानो विधेयक संसदबाट फिर्ता लिएर त्यसमा संशोधन गरि नयाँ विधेयक पेस गर्ने निर्णय गरिसकेको जानकारी पनि दिए।



यसअघि संसदमा पेश गरिएको नागरिकता विधेयकमा नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रावधान राखिएका कारण उक्त विधेयक संसदबाट फिर्ता लिने निर्णय मन्त्रीपरिषदले गरेको मन्त्री यादवले बताए।
उनकाअनुसार पुरानो विधेयकमा केही त्रुटीपूर्ण प्रावधान राखिएको थियो। ‘हाम्रै आग्रहमा मन्त्रीपरिषद् बैठकले उक्त विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको हो’, उनले भने, त्यसमा संशोधन गरि नयाँ विधेयक संसदमा पेश गरिने र उक्त विधेयक संसदमा फास्ट ट्रयाकबाट पारित गर्ने गरि सरकारले काम गरिरहेको छ।’
अब संसदमा सरकारले पेश गर्ने नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहजै सहयोग गर्ने उनको दावी छ। सबै भन्दा पहिले एमालेले नै ताली बजाएर नागरिकता विधेयक पास गर्छ’, मन्त्री यादवले भने, त्यस बाहेक उसँग अरु कुनै विकल्प नै छैन।’