शहर व्यवस्थापनमा आचरण सुधारको खाँचो छ : महानगर प्रमुख शाह – Deurali Khabar

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले शहर व्यवस्थापनमा आचरण सुधारको खाँचो भएको बताएका छन्  । आज महानगर क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने कार्यालयका अधिकारीका बीच सम्पन्न भएको पूर्वाधार विकास समन्वय बैठकमा प्रमुख शाहले यस्तो बताएका हुन् ।

‘सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकको तार सञ्जाल, फोहोरमैला व्यवस्थापनजस्ता कामका लागि पहिले सफ्टवेयरमा काम गरौँ । त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ’ बैठकमा प्रमुख शाहको भनाइ थियो ।


‘खानेपानी वितरणका लागि खनिएका वडा १३, १४, १५ र २६ का सडक कहिले सम्ममा कालोपत्रे हुन्छन् ? खानेपानीको पाइप बिच्छ्याउन सहमति माग भइ आएका वडा २, ३, ४ र ५ को काम कसरी हुँदैछ ?’ बैठकमा प्रमुख शाहले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरुलाई प्रश्न गरे ।

त्यस्तै विद्युत प्राधिकरणका अधिकारीलाई, वडा नं. ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, माली गाउँ, कालो पुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि छोडिएको सडक कहिले सम्ममा पुनस्र्थापना हुन्छ ? भन्दै प्रश्न गरे, ‘बिजुली भूमिगत गरिएपछि मर्मत गरिएको पैदल मार्ग पनि उबडखाबड छ । यसको सतहलाई कसरी मिलाउन सकिन्छ ?’ उनको प्रश्न थियो । प्रमुख शाहले महानगर अन्तर्गत गर्नुपर्ने काम तदारुकताका साथ गरिने जानकारी दिए ।

बैठक उपप्रमुख सुनिता डंगोलले सहरी विकासका काममा समन्वय होस् अन्योल नहोस् भन्ने उद्देश्य राखेर बैठक आयोजना गरिएको बताइन् । ‘साझेदार कार्यालयहरूको चालु आर्थिक वर्षका योजना र बजेटका विषयमा अद्यावधिक हुन पाइयो । कुन काम कसको क्षेत्राधिकारभित्र पर्छ स्पष्ट हुँदै गएको छ । यति नहुँदा महानगरले आफ्नो दायित्वमा नपर्ने विषयमा सेवाग्राहीका अपेक्षा सुन्नुपरेको थियो । बर्खामा गर्न सकिने काम बर्खामै गरौँ । अहिले गर्न सकिँदैन भनिएका सडक कालोपत्रे सहितका काम बर्खा सकिने वित्तिकै गरौँ’ उपप्रमुख डंगोलले आग्रह गरिन् ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले बैठकमा उठेका सवालहरू अभिलेखीकरण गरेर मन्त्रालय तथा सम्बद्ध कार्यालयमा पठाइने बताए । ‘यी विषयहरु नागरिकलाई जानकारी दिन प्रत्यक्ष प्रसारण गरेका छौँ । सबैको साझा प्रयत्नबाट एकीकृत विकासमा योगदान गरौँ ।’ पौड्यालको जोड थियो ।

बैठकमा सडक विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत प्राधिकरणलगायत कार्यालयका अधिकारीहरुले बर्खायाममा सडक कालोपत्रे गर्न नसकिने बताएका थिए । पाइप तथा बिजुलीका तार बिच्छ्याउन खनिएका सडक पानी पर्न छोडेपछि कालोपत्रे हुने उनीहरुको भनाइ थियो ।

बैठकमा सडकको मापदण्ड र अहिलेको अवस्था, ट्राफिक व्यवस्थापनको व्यवहारिक र कानुनी पक्ष तथा प्रविधि जन्य सम्भावना, ढल सञ्जालको मर्मत तथा पुनर्स्थापनाको काम, चोकहरूको सुधार, इन्टरनेट सेवा प्रदायकहरुले टाँगेका तार व्यवस्थापन लगायतका विषयहरुमा छलफल भएको थियो ।

सहरमा फैलिएको हैजा र यससँग खानेपानी तथा ढल प्रणालीको सम्बन्ध छलफलको अर्को महत्वपूर्ण विषय थियो । बैठकमा प्रमुख शाहले पार्किङ प्रयोजन देखाएर नक्सा स्वीकृत गरिएका तर ती ठाउँ अन्य प्रयोजनमा ल्याइएका घरधनीलाई स्वीकृत नक्साबमोजिम प्रयोग ल्याउन महानगरले ३५ दिने सूचना जारी गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP