मंगलबार , माघ २९, २०८१
बिमाको साढे २ करोडका लागि नक्कली विवाह र हत्या – Deurali Khabar

काठमाडौं : कोहलपुर— २ बाँकेकी २१ वर्षीया सपना मल्ल साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली हुँदै जापानका लागि उड््ने तयारीमा थिइन्। सबै प्रक्रिया पूरा गरेर उनको अन्तिम सुरक्षा जाँचको काम चल्दै थियो। त्यसै समयमा सादा पोसाकमा खटिएका प्रहरीले उनको केरकार सुरु गर्‍यो।

सुरुमा आफू कुनै पनि आपराधिक गतिविधिमा संलग्न नरहेको दाबी गरेकी उनलाई जब प्रहरीले एउटा प्रमाण देखायो, उनी अक्क न बक्क भइन्। त्यो थियो उनको नक्कली विवाह र हत्यामा संलग्नको प्रमाण। सुरुमा अस्वीकार गरेकी उनले घटना स्विकारिन्। प्रहरीले हत्कडी लगायो। उनी जापान होइन प्रहरीको कठघरामा पुगिन्।

उनले विवाह गरेका बैजनाथ—६ बाँकेका २१ वर्षीय सर्जन विकको २०७८ वैशाख २ मा बैजनाथकै लालपुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। उनलाई गाडीले पछाडिबाट ठक्कर दिएको थियो। २०७७ फागुन २८ मा उनको रिलायन्स लाइफ इन्सुरेन्समा २ करोड ५० लाखको जीवन बिमा भएको थियो। सोही बिमा रकम हत्याउन सपनासहितको एउटा समूहले सर्जनको हत्या गरेको प्रहरीले बताएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरीले दुर्घटना जस्तो देखाएर बिमाको रकम हात पार्नमा उनको पनि संलग्नता रहेको सार्वजनिक गरेको हो।

तत्कालीन अवस्थामा दुर्घटना भनेर यसै छाडिए पनि बिमा गर्ने संस्थालाई शंका लागेर प्रहरीलाई अनुसन्धानका लागि भनेको थियो। अनुसन्धान गर्दै जाँदा दुर्घटना आफैं नभएर सर्जनको ज्यान लिने नियतले गराइएको खुलेको ब्युरो प्रमुख एआईजी उत्तम सुवेदीले जानकारी दिए। ‘उनको हत्या पछाडि प्रलोभनमा पारेर नक्कली विवाह, ठूलो रकमको बिमा गराइनु र मृत्युपश्चात्् पाइने रकमका लागि उनलाई जानाजान दुर्घटनामा पारेर मारिएको खुलेको छ। यस घटनामा संलग्न ६ जना आरोपी छन्,’ उनले भने।  पक्राउ पर्नेमा एक डिपो सञ्चालक सञ्जीव अर्याल, मृतकसँग विवाह दर्ता गरेकी सपना मल्ल, कोहलपुरका सरदार अहमद खाँ, मिनीबसका चालक टोपबहादुर राना क्षेत्री, कोहलपुर घर भएका ३८ वर्षीय दीपक केसी र २१ वर्षीया ललिता सापकोटा छन्।

हत्याको योजना २०७७ सालबाटै

प्रहरीका अनुसार सर्जन विकको हत्याको योजना २०७७ बाटै बनेको देखिन्छ। उनी कोहलपुरस्थित गिट्टी, बालुवा र ढुंगा सप्लाई गर्ने डिपोका कामदार हुन्। त्यही डिपोको सञ्चालक हुन् स्याङ््जा घर भई कोहलपुरमा बस्ने ३१ वर्षीय सञ्जीव अर्याल। अर्यालकै निर्देशनअनुसार सर्जन उक्त दिन भे १० प १७२७ नम्बरको मोटरसाइकल लिएर टिप्परमा बालुवा लोड गराएर बैजनाथ गाउँपालिका–६ स्थित लालपुर हुँदै सर्जन कोहलपुर नगरपालिकाको सम्झनातिर फर्किंदै थिए। कोहलपुरबाट डिगियातर्फ गइरहेको भे १ ख २४९१ नम्बरको मिनीबसले सर्जनको मोटरसाइकललाई ठक्कर दियो। ठक्कर दिएर बसलाई घटनास्थलमै छाडेर चालक टोपबहादुर राना क्षेत्री भागे। प्रहरीका अनुसार भाग्नुअघि उनले मिनीबस अगाडि र पछाडि सारेर मोटरसाइकल चालकको मृत्यु भएको नभएको हेरेका थिए। सर्जनलाई प्रहरीले कोहलपुर मेडिकल कलेजमा लग्यो। अस्पतालमै उनको मृत्यु भयो। मिनीबस चालकविरुद्ध सवार ज्यान मुद्दा दर्ता भयो। माघ २५ मा अदालतले मिनीबसका चालक टोपबहादुरलाई ३० दिन कैद र दुई हजार जरिबाना हुने फैसला सुनायो। मृतकले चलाएको मोटरसाइकलका धनी कोहलपुर नगरपालिका–१५ घर भएका सरदार अहमद खाँले पनि सफाइ पाए।

सर्जन दुर्घटनामा पर्नुअघि नै २ करोड ५० लाखको सार्वधिक जीवन बिमा र म्यादी जीवन बिमा गरेर सो रकम लिन योजनाबद्ध ‘दुर्घटना’ गराएको एआईजी सुवेदीले बताए। भने, ‘रिलायन्स लाइफ इन्स्योरेन्सबाट मृतकसँग विवाह दर्ता गरेकी सपना मल्लले चेक बुझेर कामना सेवा विकास बैंकको आफ्नो खातामा रकम जम्मा गरेको देखिन्छ।’ प्रहरीका अनुसार २०७७ चैत २ गते सपना र सर्जनको विवाह दर्ता भएको प्रमाण छ। तर, विवाहपछि उनीहरू दुवैको भेट भएको छैन। डिपेन्डेन्ट भिसामा अस्टे«लिया जाने भनेर भिसा प्रोसेसको लागि विवाह दर्ता गर्ने भनेर सर्जनलाई सपनासँग विवाह गराइएको अनुसन्धानबाट खुलेको छ। यो कामको योजना बनाएका थिए सञ्जीवले। विवाह दर्ता भए पनि सपना र सर्जनबीच कहिल्यै पनि भेटघाट र कुराकानी भएन। सर्जनको मृत्यु हुँदा सपना घरमा पनि गइनन्। विवाह दर्ता पछि पढ््न भन्दै सपना काठमाडौंमा आएकी थिइन्।

रिलायन्स लाइफ इन्सुरेन्स कोहलपुर शाखामा २०७७ फागुन २८ गते मृतक सर्जन विकको नाममा २५ वर्षे अवधि रहेको १ करोड २० लाखबराबरको सार्वधिक जीवन बिमा र ७० लाखको एक्सिडेन्टल बिमा गरिएको थियो। इच्छाइएको व्यक्तिमा श्रीमती सपना मल्ल लेखिएको थियो। बिमाबापत लाग्ने सम्पूर्ण खर्च सञ्जीव अर्यालले नै तिरेको अनुसन्धानबाट खुलेको छ। बिमा गर्दा उनीहरूबीच विवाह दर्ता भइसकेको थिएन।

सर्जनको मृत्युपछि साढे २ करोडको चेक सपना मल्लको बैंक खातामा जम्मा गरियो। सो रकम योजनामा संलग्न सबैले बाँडेर लिएको एआईजी उत्तम सुवेदीले बताए। मुख्य योजनाकार सञ्जीव अर्यालले ८० लाख ३६ हजार र दीपक केसीले ६० लाख रुपैयाँ लिएको थाहा भएको छ। सपना मल्लले ८६ लाख ८९ हजार र सपनाको आमा छविकुमारी खत्रीको बैंक खातामा १७ लाख जम्मा गरेको भेटिएको छ। सो रकम सपनाको एटीएम कार्डबाट ३ लाख ५० हजार र पीओएस मेसिनमार्फत २ लाख ६९ हजार खर्च गरेको भेटिएको छ। बिमा रकम बुझेको दिन उनीहरूले ५ हजार ३ सय रुपैयाँ रिचार्ज कार्ड किन्न खर्च गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP