भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइए – Deurali Khabar

११ भदौ, काठमाडौं । नक्कली कागजातका आधारमा भिजिट भिसाका लागि खाडी मुलुक जाने प्रयास गरेको आशंका १९७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बुधबारदेखि शनिबारसम्म चलाएको अपरेशनका क्रममा उनीहरुलाई विमानस्थलबाट फर्काइएको हो ।

कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीका अनुसार विभिन्न एयरलाइन्समार्फत भिजिट भिसामा जान लागेका व्यक्तिहरु शंकास्पद लागेपछि सोधपुछ गरिएकोे थियो । त्यसक्रममा विस्तृत अनुसन्धान आवश्यक देखिएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल बुझाइएको ज्ञवालीले बताए ।

उनीहरुलाई विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा हवाई अनुमतिका लागि आवश्यक कागजातहरु शंकास्पद देखिएको थियो । यसरी विमानस्थलबाट फर्काइएका मध्ये १०३ जना महिला र ९४ जना पुरुष छन्

भिजिट भिसामा खाडी मुलुक गएका नागरिकहरु अलपत्र पर्न थालेपछि गृह मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा कार्यदल बनाएर जाँचबुझ गरेको थियो । त्यसको सिफारिस अनुसार भिजिट भिसा सम्बन्धी मापदण्डलाई कडाइ गर्दै भिजिट भिसामा पठाउन सक्रिय व्यक्ति तथा संस्थाहरुको गतिविधिलाई निगरानीमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।

भिजिट भिसामा आफन्तबाहेक जाँदा कम्तिमा १० लाख आय हुनुपर्ने पनि भनिएको थियो । त्यसको ५० प्रतिशत बैंकमा मौज्दात हुनुपर्ने भनिएको थियो । विदेशमा आफन्तले बोलाउँदा वा भिजिट भिसा प्रयोजनमा भट्न जाने विषयलाई श्रीमान श्रीमती, बाबुआमा, दाजुभाइ, सासुससुरा र छोराछोरीमा मात्र सीमित गरिएको थियो ।

नागरिकताबाट नाता खुल्नेको हकमा प्रमाणीकरण आवश्यक नपर्ने पनि भनिएको छ ।

नाता प्रमाणित आवश्यक पर्ने हकमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित भएको र त्यसको प्रति सम्बन्धित स्थानीय तहले अध्यागमन कार्यालयबाट हेर्नसक्ने गरी सूचना प्रणालीमा अपलोड गरेको हुनुपर्ने भनिएको थियो । तर यस्ता कागजातहरु नै कीर्ते गरेर भिजिट भिसामा पठाउने गरिएको आशंका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP