निजामती विधेयकमा गठबन्धनमै विवाद – Deurali Khabar

काठमाडौँ — प्रदेश मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघबाट पठाउने कि प्रदेशलाई नियुक्तिको अधिकार दिने ? यो मुद्दामा सत्तारूढ गठबन्धन दलबीच सहमति नजुट्दा संघीय निजामती विधेयक यही संसद्बाट पारित हुने सम्भावना टर्दै गएको छ ।

कांग्रेसले सचिव र प्रमुख प्रशासकीय अधिकृत केन्द्रबाटै पठाउनुपर्ने मत राखेको छ भने गठबन्धनका अन्य दल मुलुक संघीयतामा गएपछि कर्मचारी पदपूर्ति र खटनपटनको अधिकार प्रदेशलाई दिनुपर्ने अडानमा छन् । विधेयकका अन्य प्रावधानमा पनि कांग्रेस र माओवादी नेताहरूको मत बाझिएको छ । गठबन्धनमा सहमति नभएकै कारण अर्थको स्वीकृतिपछि पनि विधेयक कानुन मन्त्रालयमा अड्किएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीका अनुसार अहिले विधेयकको प्रावधानका विषयमा कांग्रेस–एमाले एकै ठाउँ भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले सरकारले २०७५ माघमा संसद्मा पेस गरेको विधेयकका प्रावधानहरूमा समर्थन जनाएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित गरेर प्रतिनिधिसभामा पेस भएको संघीय निजामती विधेयक प्रक्रियामा नलगी सरकारले फिर्ता गरेको १० महिना भइसकेको छ । ‘प्रधानमन्त्रीलै नै चाहनुभएन भने विधेयक अघि बढ्ने सम्भावना छैन,’ एक मन्त्रीले भने ।

संविधानको धारा २३२ को (१) मा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था रहेको छ । त्यसैलाई आधार बनाएर प्रदेश र स्थानीय तहसँगको सम्बन्ध टुटाउन नहुने तर्क सत्तारूढ पार्टीबाटै आएको छ । त्यसैमा टेकेर कांग्रेस र एमालेले संघ र प्रदेशबीचको सम्बन्ध टुटाउन नहुने तर्क गर्दै आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार गत साउन अन्तिम साता कानुन, सञ्चार, गृहसहित गठबन्धन दलका मन्त्रहरूबीच भएको छलफलमा सहमति हुन नसकेपछि विधेयक अघि बढ्न नसकेको हो । उक्त विधेयक गत साउनमा कानुनमा पठाइएको थियो ।

संघीय मन्त्रालयका एक सहसचिवका अनुसार अर्थको स्वीकृति भएपछि कानुन मन्त्रालयमा गठबन्धनका मन्त्रीहरूबीच भएको छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघबाट पठाउने प्रावधान राख्नुपर्ने बताएका थिए ।

विधेयक अर्थबाट आएपछि मुख्यसचिव शंकरदास बैरागी, संघीय सचिव सुरेश अधिकारी, कानुन मन्त्रालयका अधिकारीबीच भएको छलफलले प्रदेश र स्थानीय तहमा संघबाट कर्मचारी पठाउने विषयमा शीर्ष राजनीतिक नेतृत्वमा सहमति हुनुपर्ने अनौपचारिक निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रीहरू सम्मिलित राजनीतिक नेतृत्वबीच छलफल भएको थियो । ‘सामान्यतया कानुन मन्त्रालयले सबै विषय हेरेपछि छलफल अन्तिम हुने गर्छ,’ संघीय मामिला मन्त्रालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीकै असहमति भएपछि गठबन्धनबीच फरक धारणा आएको छ । त्यसैले विधेयक संसद्मा लैजाने अवस्था बनेको छैन ।’

विधेयक नल्याउँदा २०७६ सालमा संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको खटनपटन, सेवासुविधा, सरुवा बढुवालगायत विषयमा बेथिति मौलाएको छ । प्रस्तावित विधेयकमा प्रदेशको प्रमुख सचिव संघको दरबन्दी हुने र प्रदेश सचिव एवं स्थानीय तहका प्रशासकीय अधिकृतको पदपूर्ति प्रदेश लोक सेवा आयोगले गर्ने उल्लेख छ ।

त्यसरी पदपूर्ति गरिएका कर्मचारीको सरुवा, बढुवा, सेवासुविधालगायत परिचालन सबै प्रदेश निजामती सेवा ऐनअनुसार हुने, उक्त पदहरू संघको नभई प्रदेशको हुने प्रावधान विधेयकमा छ । मुलुक संघीयतामा गएकाले कर्मचारी पदपूर्ति र खटनपटन प्रदेशलाई नै दिनुपर्ने भनाइ संघीय मामिला मन्त्रालयको छ । उक्त मन्त्रालयको नेतृत्व जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले गरिरहेका छन् । श्रेष्ठलाई कांग्रेसबाहेक गठबन्धनका दलले साथ दिइरहेका छन् ।

केपी ओली नेतृत्वको तत्कालीन सरकारले संसद्मा पेस गरेको मूल विधेयकमा पनि प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत संघबाट पठाउनुपर्ने प्रस्ताव छ । त्यसैले अहिले प्रमुख प्रतिपक्षी एमाले र कांग्रेसको ‘लाइन’ एउटै भएको अधिकारीहरू बताउँछन् ।

२०७७ असारमा राज्यव्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित हुँदा प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश सेवाअन्तर्गत हुने उल्लेख थियो । सोही प्रावधानअनुसारको विधेयक समितिकी तत्कालीन सभापति शशि श्रेष्ठले प्रतिनिधिसभामा पेस गरेकी थिइन् । तर उक्त प्रावधानसहितको विधेयक गत कात्तिकमा प्रतिनिधिसभाबाट फिर्ता गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP