एलन मस्कले यसै हप्ता माइक्रो ब्लगिङ साइट ट्वीटरलाई एक्स नामबाट रिब्रान्ड गरे ।
मस्कको यो कदमलाई चिनियाँ एप विच्याटकै बाटोतर्फ ट्वीटरलाई लैजानका लागि उठाइएको कदम मानिएको छ ।
आफ्नो सोसल मिडिया कम्पनी ट्वीटरलाई एउटा ठूलो प्लाटर्फमको रुपमा परिणत गर्ने आफ्नो चाहना रहेको मस्कले बताउँदै आएका थिए ।
मस्कले हाल नाम परिवर्तन गरी एक्स बनाइएको ट्वीटर कम्पनीलाई गत वर्ष ४४ अर्ब डलरमा खरिद गरेका हुन् ।
एलन मस्क वास्तवमा चिनियाँ एप विच्याटका प्रशंसक हुन् । उनले एभ्रिथिंग एप (सबै काम गर्न सकिने एउटा सम्पूर्ण एप) को रुपमा रहेको विच्याटको तारिफ गरिसकेका छन् ।
विच्याटले एउटै प्लाटर्फममा च्याट, डेटिंग, भुक्तानी तथा सोसल मिडियाको सुविधा दिने गर्दछ ।
मस्कले ट्वीटरलाई पनि विच्याटजस्तै एउटा सम्पूर्ण एप बनाउन चाहेको बताएका थिए । यदि त्यस्तो भयो भने यो ट्वीटरका लागि ठुलो सफलता हुनेछ ।
हालै एक्स (पहिलेको ट्वीटर) मा गरेको एक पोस्टमा मस्कले आगामी महिनाहरुमा एक्स प्लाटर्फममा सबै खालका वित्तीय कारोबारहरु गर्न सकिने फिचर थप गर्ने बताएका छन् ।
यसबाट कम्पनीको आम्दानीमा उच्च वृद्धि हुने र आर्थिक स्थिति सुध्रिने आशा मस्कको छ ।
स्मरण रहोस् मस्कले खरिद गरेयता ट्वीटरको आम्दानी आधाले घटिसकेको छ । एक्स कम्पनी ठुलो परिमाणको ऋणले थलिएको छ र ऋण चुक्ता गर्न सकिरहेको छैन ।
उता चिनियाँ एभ्रिथिंग एप विच्याटलाई सन् २०११ मा प्रसिद्ध कम्पनी टेन्सेन्टले लञ्च गरेको हो । चीनको एक अर्ब ४० करोड जनसंख्यामध्ये अधिकांशले यो एप प्रयोग गर्दछन् ।
विच्याटलाई सुपर एप मात्र भन्नु पनि यसको अवमूल्यन हुन्छ किनकि यो एउटा सम्पूर्ण एप हो ।
विच्याटले एउटै प्लाटर्फमबाट मेसेजिंग, भ्वाइस तथा भिडियो कल, सोसल मिडिया, खाने कुराको डेलिभरी, मोबाइल भुक्तानी, गेम्स, समाचार तथा डेटिंग सर्भिसलगायतका सुविधाहरु उपलब्ध गराउँछ । यस अर्थमा विच्याट एउटा यस्तो एप हो जसभित्र ह्वाट्सएप, फेसबुक, एप्पल पे, अमेजन, टिन्डरलगायतका सबै एपहरु हालिएको छ ।
विच्याट चिनियाँ समाजमा यतिविधि प्रयोग गरिन्छ कि चिनियाँहरू विच्याटबिना दैनिकीको कल्पना पनि गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् ।
विच्याट एउटा ह्वाट्सएप तथा आइमेसेजन जस्तो प्लाट मको रुपमा सुरु भएको थियो । यसमा सबैभन्दा धेरै प्रयोग हुने फिचर चाहिं च्याट्स तथा मोमेन्ट्स हुन् ।
च्याट्स फिचर भनेको ह्वाट्सएप जस्तै च्याटिंग प्लाटर्फम हो भने मोमेन्ट्स भनेको फेसबुक जस्तै प्लाटर्फम हो ।
ह्वाट्सएपको वालेट फिचर पनि निकै धेरै प्रयोग हुन्छ । यसलाई डेबिट तथा क्रेडिट कार्डसँग लिंक गर्न सकिन्छ । चीनमा धेरैजसो पसल तथा अनलाइन रिटेलरहरुले पनि विच्याटबाटै भुक्तानी लिन्छन् ।
प्रयोगकर्ताहरुले क्यूआर कोड स्क्यान गरी यो एपको माध्यमबाट भुक्तानी गर्न सक्दछन् । यसबाट घरेलु युटिलिटीको बिल भुक्तानी गर्न सकिनुका साथै कर्जा लिन र लगानी गर्न समेत सकिन्छ ।
विच्याटमा सरकारी सुविधाहरु पनि उपलब्ध छन् । प्रयोगकर्ताहरुले सामाजिक सुरक्षासँग सम्बन्धित जानकारीहरु प्राप्त गर्न, टिकट बुक गराउन र अस्पतालमा नाम लेखाउनका लागि समेत विच्याट प्रयोग गर्न सक्दछन् ।